सेतो पुतलीकाे झुसबाट हुने शापुले गुम्न सक्छ आँखाको दृष्टि
पोखरामा सेतो पुतलीका माध्यमबाट आँखामा लाग्ने शापु रोगको प्रकोप देखा परेको छ ।
यसअघि २ बर्ष पहिला पनि सेतो कालाधर्के पुतलीको माध्यमवाट सर्ने यो रोगको प्रकोप पोखरामा देखिएको थियो ।
सेतो पुतलीको झुस आँखामा परेपछि आँखा ज्योति नै गुम्न सक्ने हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी गोविन्दनाथ योगीले जानकारी दिनुभयो ।
पोखरामा उपचारका लागि आउनेमा १ महिनाका वच्चादेखि ५० बर्षसम्मका बृद्ध रहेका छन् । शापु रोग पहिलो पटक आजभन्दा ४४ बर्ष पहिला पोखरामा नै देखिएको थियो ।
प्रत्येक जोर वर्षमा पोखरामा भदौ देखि कार्तिकसम्म देखिने सेतो पुतली नै यो रोगको कारक रहेको योगीको भनाई छ ।
पोखरामा भदौ १६ गते यता ४ दिनको अवधिमा ७ जनामा यो रोग संक्रमण भैसकेको हिमालय आँखा अस्पतालले जनाएको छ ।
पोखरामा उपचार सम्भव नभएपछि केहीलाई तिलगंगा आँखा अस्पताल काठमाण्डौ रिफर गरिएको र केहीको पोखरामा नै उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
अहिले हिमालयन आँखा अस्पतालकाे अगुवाइमा सेतो पुतलीको संक्रमणबाट हुने शापुबाट जोगिनका लागि चेतनामूलक कार्यक्रम गर्न लागिएको छ ।
सेतो काला धर्सा भएको पुतलीको खुट्टामा भएको पँहेलो टक्सिन हावाको माध्यमवाट आँखामा परेपछि आँखा दुख्ने र सुख्खा हुने लक्षण देखिन्छ ।
आँखा दुख्ने र सुख्खा भएको महशुस भएमा तत्कालै आँखा अस्पतालमा जानुपर्ने चिकित्सकको भनाई छ ।
आँखामा संक्रमण भएको ४८ घण्टा भित्र अप्रेसन गरेर आँखाको पिप फाल्नुपर्ने अन्यथा आँखाको ज्योति नै गुम्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

