स्थानीय सक्रिय बने विकास सम्भव – राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता सक्रिय भए आफ्नो गाउँको विकास आफैं गर्न सकिने बताउनुभएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको अवसरमा बिहीबार मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकार र जनताबीचको सहकार्यबाट छोटो समयमा मन्दिरको जीर्णोद्धार सकिएको बताउनुभयो ।

मन्दिर निर्माणका लागि भक्तजनकाे १० कराेड सहयाेग

मन्दिर पुनर्निर्माणमा करिब १४ करोड लगानी भएको छ । सरकारले चार करोड उपलब्ध गराएको थियो भने अरु रकम भक्तजनबाट संकलन गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्दिर निर्माणमा सघाएका चन्दादाता तथा स्थानीय बासिन्दालाई धन्यवाद समेत दिनुभयो । मनकामना मन्दिर नजिकका अन्य सम्पदा तथा धार्मिक स्थललाई समेटेर बृहत धार्मिक केन्द्र बनाउन सके रोजगारीको अवसरसमेत सिर्जना हुने विश्वाश व्यक्त गर्नुभयो ।

कार्यक्रममा मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिर पुनर्निर्माणमा सघाउने चन्दादाताहरूलाई सममान गरेको थियो । मनकामना केबलकार सञ्चालकहरू राजुबाबु श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, मन्दिर पुनर्निर्माणमा इँटा सहयोग गर्ने काठमाडौंका हीराकाजी महर्जनलगायतलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको हो । सो अवसरमा राष्ट्रपतिले मनकामना माइ पुस्तक लोकार्पण समेत गर्नुभएको थियो ।

Facebook Comments