लायन्स क्लव अन्नपूर्ण र डल्फिनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा डल्फिनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा अवस्थित बिन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रमा रहेका जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा क्लबका पुर्ब अध्यक्ष डा.लायन बसन्त ताम्राकार, सदस्य डा.लायन गोपीलाल श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो अवसरमा भिडियो एक्सरे, रक्त परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा १०० भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएको आयोजक लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष दिनेश तुलाचनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बिन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष लायन गणेश बहादुर श्रेष्ठ, विशेष अतिथि डिष्टिक डिपार्टमेन्ट चिफ लायन मिलन थापा, पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष एवं क्लवका पूर्व अध्यक्ष रबिन्सन प्रजु अतिथि रहनुभएको थियो । लायन अर्जुन लामिछानेले संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन लायन गणेश छविले गर्नुभएको थियो ।

Facebook Comments