आयल निगमको ४९ औं बार्षिकोत्सवमा पुरस्कार र सम्मान वितरण
नेपाल आयल निगमको ४९ औं बार्षिकोत्सवको अवसरमा निगमको पोखरा महानगरपालिका गगनगौंडामा रहेको डिपोमा पुरस्कार तथा सम्मान वितरण कार्यक्रम गरिएको छ । निगमको बार्षिकोत्सवको अवसरमा आयोजित हाजिरि जवाफ प्रतियोगिताका विजयी समूह, रक्तदान तथा स्वास्थ्य शिविरमा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई पुरस्कार बितरण तथा सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढाले गण्डकी प्रदेशमा सहज आपूर्तिका लागि तनहुँ, गोरखा लगायतका क्षेत्रमा भण्डारण केन्द्र निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले पेट्रोलियम पदार्थको आपूर्ति महत्वपूर्ण र संवेदनशिल भएको उल्लेख गर्दै, यो क्षेत्रमा बन्द हड्ताल नगर्न समेत सुझाव दिनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न नीजि क्षेत्र र सरकारी निकायवीच समन्वय हुनु पर्नेमा जोड दिनुभयो । निगम गगनगौडा डिपो प्रमुख विनी श्रेष्ठले व्यवसायीहरुको सहकार्यले पेट्रोलियम पदार्थको बजार व्यवस्थापन सहज भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष राजन गोगंजुले गगनगौडा इन्धन डिपोमा भौतिक पूर्वाधारको सुधार गर्नुपर्ने बताउनुभयो । डिपो र डिलर एशोसियशनका विच सहकार्य भएकाले ट्यांकरहरुमा लकिङ सिस्टम सफल भएको उहाँको भनाई छ ।
डिपो प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी ट्यांकर व्यवसायी समितिका अध्यक्ष सुरेन्द्ररमण पराजुली, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि मिलन तिवारी, डिपोका कर्मचारी नवराज पोखरेल र सरिता बराल लगायतले बोलेका थिए ।

