डाँफे होटल ट्रेनिङ सेन्टरमा ‘हस्पिटालिटी कन्टेस्ट’का प्रतिस्पर्धीले ‘बारिष्टा’ सिक्दै
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत यतिबेला देशव्यापी छनौट भएका प्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यवहारिक प्रशिक्षणहरुको व्यवस्था गरिएको जनाएको छ ।
यसैबीच कन्टेस्टका प्रतिस्पर्धीहरुले डाँफे होटलको तर्फबाट बारिस्टा ट्रेनिङ लिएका छन् । प्रशिक्षणमा सहभागी प्रतिस्पर्धीहरुले कफिको बारेमा जानकारी लिनुका साथै ‘कसरी कफि बनाउने ?’ भन्ने विषयमा सिकेका थिए ।
डाँफे होटल ट्रेनिङ सेन्टरका तर्फबाट नबिन गुरुङले प्रतिस्पर्धीहरुलाई ‘कफि मेकिङ’ सिकाउनुभएको थियो । प्रतिस्पर्धीहरुले बेसिक कफि मेकिङ, एक्सप्रेसो, अमेरिकानो, क्यापाचिनो जस्ता स्वादका कफि बनाएका थिए ।
‘हामीले सामान्यतया प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित जीवनोपयोगी स्किलहरु प्रशिक्षणको क्रममा सिकाउँदैछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भन्नुभयो–‘यो इभेन्टमा सहभागी प्रतिस्पर्धीहरुलाई दिईने प्रशिक्षणले उनीहरुको पुरै जीवनकालभरि नै दक्ष भएर काम गर्न सहयोग पु¥याउनेछ ।’
डाँफे होटल ट्रेनिङ सेन्टरले आगामी शनिबार पनि प्रतिस्पर्धीहरुलाई कफि मेकिङ सम्बन्धि तालिम दिने जनाएको छ । चिप्लेढुंगास्थित यो ट्रेनिङ सेन्टरमा कुक, बार टेन्डर, वेटर, हाउस किपिङ जस्ता प्रशिक्षणहरु दिईन्छ ।
विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट २५ जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ ।

