म्याग्दीमा ५ सहकारी एकीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : कृषि तथा सहकारीमन्त्री थापा

म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच आइतबार एक कार्यक्रमका वीच एकिकरणको घोषणा गरिएको हो ।

दरबाङमा भएको एकिकृत साधारणसभाबाट सुरेन्द्रराज शर्माको अध्यक्षतामा भिमप्रसाद गौतम (जिवन) उपाध्यक्ष, हरिप्रसाद पौडेल सचिव, कृष्णप्रसाद आचार्य कोषाध्यक्ष र थमन गौतम सहसचिव रहनुभएको ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

तीन हजार ८०० जना सदस्यको पाँच करोड ७९ लाख ३८ हजार १०९ रुपैयाँ सेयर पुजी रहेको सहकारीको चालू आर्थिक वर्षको हालसम्मको निक्षेप संकलन तीस करोड ६५ लाख २३ हजार ८८५ र ३२ करोड ७० लाख दुई हजार ४५० रुपैयाँ कर्जा लगानी रहेको लेखापाल सन्तोष शर्माले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाभर कार्यक्षेत्रको अनुमती पाएको सहकारीले ग्रामिण बजारबाटै मोवाइल, सफ्टवयर लगायत अत्याधुनिक प्रबिधीको प्रयोग गरेर सेवा प्रवाह गरेको लेखापाल शर्माले बताउनुभयो ।

यसअघि साधारणसभाको उद्घाटन समारोहमा गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेशमा रहेका तीन हजार ५०० सहकारीसँग रहेको ३५ अर्ब रुपैयाँ भन्दा बढी पुँजीलाई उत्पादनमा लगाउन आवश्यक नीति तय गरिसकिएको जानकारी दिनुभयो ।

मन्त्री थापाले १ घर, १ सेयर, १ सहकारी एक उत्पादन जस्ता कार्यक्रम मार्फत कृषि र पशुजन्य बस्तुको उत्पादन वृद्धी गरी कृषिमा आत्मनिर्भर बनाउने योजना बनाएको बताउनुभयो । उहाँले जमिन बाँझो राख्नेलाई दोब्बर कर लगाउने, भूमि बैङ्क स्थापना गर्ने तयारी भएको, सहकारीको बर्गीकरण गरिने बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीले प्रदेशको सहकारी ऐनमा सहकारी संस्थाले तीस प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने, दोहोरिएर सदस्य हुन नपाउने, बचत र ऋणको अनुपात पाँच प्रतिशत भन्दा बढी हुन नपाउने, एकिकरण हुने र उत्पादनमा तोकिएको लगानी गर्ने सहकारीलाई अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरु उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन गर्न स्थानीय तहमा सहकारी हेर्ने कर्मचारीको आवश्यकता रहेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका कृषि उपजको बजारीकरणका लागि पालिकाले सडक स्तरोन्नती गर्न लागेको जानकारी दिनुभयो ।

प्रदेशका सहकारी प्रमुख बद्रिनाथ अधिकारीले प्रदेशको सहकारी ऐनको बारेमा जानकारी गराउँदै कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र गौतम, वडा अध्यक्ष सन्तनाथ सुवेदी, कामना सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सचिव बालकृष्ण शर्माको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि दरवाङ र पश्चिम म्याग्दी सहकारी संस्था एकिकरण भएका थिए । संस्थाको नाम पश्चिम दरवाङ बचत तथा ऋण सहकारी राख्ने एकिकृत साधारणसभाले निर्णय गरेको छ ।

Facebook Comments