विरगंजमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता सम्पन्न
मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने नारा सहित विरगंज क्याम्पसमा कार्यक्रम गरिएको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा जानकारी गराइएको थियो ।
विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रममा समावेश गरिएको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रार्चाय विनोद कुमार गुप्ताले मुक्तिनाथ विकास बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीहरुमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्नमा सहयोग पुगेको बताउनुभयो ।

