आइएस विरुद्ध सिरियाली डेमोक्रेटिक फोर्सकाे भीषण कार्वाही

अमेरिकी गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट (आइएस) समूह विरुद्ध भीषण कार्वाही थालेको छ । आइएस समूहको कब्जामा रहेको सिरियाको बागुज गाउँमा अमेरिकी गठबन्धन सेनाले कार्वाही थालेको हो । आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण सुरु गरेको हो ।

फोर्सका प्रवक्ता मुस्तफा बालीले पछिल्ला दिनमा आइएसलाई ठूलो क्षति जिकीर गर्नुभयो । उहाँका अनुसार गठबन्धन सेनाले आइएसविरुद्ध बमबारी जारी राखेको छ । गठबन्धन सेनाले यो गाउँमा १ हजार ५ सयसम्म आइएसका लडाकू भएको अनुमान गरेको छ । केही समयअघि यो गाउँबाट हजारौं महिला र बालबालिका सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

यो क्षेत्रमा अझै ठूलो संख्यामा आइएसका लडाकु रहेको बताइएको छ । आइएसको नियन्त्रण रहेको क्षेत्रलाई घेराबन्दी गरेर गठबन्धन सेनाले कारबाही गरिरहेको छ । सिरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेको बताइएको छ ।

आइएसका लडाकुले यो स्थानबाट नागरिकलाई बाहिर निकाल्न भन्दै आफ्नो अभियान रोकेका बेला गठबन्धन सेनाले आक्रमण गरेको हो । सिरियाली डेमोक्रेटिक फोर्सले पछिल्ला दिनमा आइएसमाथिको कारबाहीमा सफलता पाउँदै आएको बताइएको छ ।

फोर्सका एक सेनाले आइएसले नियन्त्रणमा लिएको क्षेत्रमा आफूहरु प्रवेश गरेको र यो निकै ठूलो क्षेत्र भएको पनि बताएका छन् । आइएस समूह एउटा सिमित क्षेत्रमा केन्द्रित हुँदै गरेको दावी गठबन्धन सेनाले गरेको छ ।

Facebook Comments