दुर्घटनाग्रस्त इथियोपियाली विमानको बक्स भेटियो

आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको छ । घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीले ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् । इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ–‘इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटिएको छ ।’

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालकादलका ८ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो । पाँच महिनाअघि इन्डोनिसियामा पनि यही मोडलको लायन एयरको जहाज खसेको थियो ।

दुर्घटनापछि विभिन्न एयरलाइन्सले अमेरिकी जहाज निर्मता कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका जहाजको उडान रोकेका छन् । पछिल्लो समय सिंगापुरले पनि उक्त मोडलका जहाज नउडाउने निर्णय गरेको छ ।

पाँच महिनामा लगालग उही मोडलका दुई जहाज खसेपछि सोमबारदेखि एयरलायन्स कम्पनीहरुले उक्त जहाजको उडान रोक्ने निर्णय गरेका हुन् । सोमबार चीन, इन्डोनेसिया र इथियोपियाले मात्र बोइङ ७३७ म्याक्स जहाज ‘ग्राउन्डिङ’ गरेका थिए ।

मंगलबार मोरोक्कोको रोयल एयर मारोक, ब्रिट्रिस एयरवेज, दक्षिण अफ्रिकाको कमएयर, मंगोलियन एयरलायन्स, एरोमेक्सिको र ब्राजिलको गोल एयरलायन्सले पनि बोइङ ७३७ म्याक्सको उडान स्थगित गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Facebook Comments