उच्च व्यवसायिक नैतिकताका साथ काम गर्नु : प्र.ना.म.नि. घिमिरे
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले आज पोखरा स्थित गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको निरीक्षण गर्नुभई प्रहरी कर्मचारीहरुद्वारा प्रस्तुत गरिएका नमुना प्रदर्शनहरुको समेत अवलोन गर्नुभएको छ ।
प्रदेश मातहतका प्रहरी कार्यालयहरुको अवलोकन तथा निरीक्षण गरी
प्रहरी सेवा प्रवाहलाई समयानुकुल साथै थप चुष्त दुरुष्त बनाउने उद्देश्यले उक्त
निरीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
निरीक्षणका क्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पुग्नु भएका
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेलाई सोही गणका प्रमुख
प्रहरी उपरीक्षक राजेन्द्र विष्टले स्वागत गर्नुभएको थियो ।
स्वागत पश्चात उहाँले उक्त कार्यालयमा रहेको अमर प्रहरी स्मृतिमा माल्यार्पण गरी श्रद्धा सुमन व्यक्त गर्नुभयो ।
निरीक्षण कै क्रममा प्रहरीको एक टुकडीले उहाँलाई सम्मान सलामी समेत अर्पण गरेको थियो । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, विभिन्न शाखा, प्रशिक्षार्थीहरु तथा प्रहरी कर्मचारीहरुको मेस, व्यारेक, क्यान्टिन, हातहतियार मर्मत शाखा र क्षेत्रीय प्रहरी अस्पतालको समेत निरीक्षण गर्नुभयाे ।
निरीक्षण पश्चात व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले समाजमा प्रहरी प्रति आम नागरिकको अपेक्षामा बढोत्तरी भएकाले अब प्रहरीको आचरण र व्यवहारमा परिवर्तन गरी सहयोग र भातृत्वको भावना विकास गर्दै उच्च व्यवसायिक नैतिकता तथा पारदर्शी रुपमा समयानुकुल जनलक्षित प्रहरी सेवा प्रवाह गर्न हर-प्रहर क्रियाशिल भई लाग्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयाे ।
सोही अवसरमा उक्त कार्यालयद्वारा प्रस्तुत गरीएको खोच तथा तालमा अड्कीएका साथै डुवेका मानिसहरुको उद्धार र भिड नियन्त्रण सम्बन्धी नमुना प्रदर्शनको समेत गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले अवलोकन गर्नुभयाे ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

