प्रहरीकाे राेहवरमा ४६ दिनपछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थी परिक्षामा सहभागी हुने

आन्दोलनरत विद्यार्थीका कारण ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ । कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि प्रहरीकाे राेहवरमा ताला खुलाइएकाे हाे । यसअघि शुक्रबार ताला खुलाउने सहमति भएपनि कलेज सञ्चालक अनुपस्थित भएपछि ताला खुल्न सकेकाे थिएन ।

२०१६ ब्याचका एमबीबीएस अध्ययनरत विद्यार्थीको परिक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । विद्यार्थीले फर्म भर्ने र परिक्षामा सहभागी हुनको लागि ताला खुलाउन सहमत भएका हुन् । अहिलेको परिक्षा दिन नपाए उनीहरुको इयर लस हुनेछ ।

सो ब्याचमा ५३ जना विद्यार्थी अध्ययनरत छन् । गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएकाे थियो। विद्यार्थीबाट कलेज सञ्चालकले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

Facebook Comments