पोखरामा ‘७५ वर्षे ठिटो’ रामेशको बालापनको चर्चा
जनताका गायक रामेशको संस्मरणात्मक किताब ‘बालापन जीवनको’माथि पोखरामा बहस भएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजना तथा सङ्गम सांस्कृतिक मञ्च पोखराको सहआयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा लेखक रामेशसँग साहित्यकार तथा पत्रकार रुपिन्द्र प्रभावीले दोहोरो बहस गर्नुभयो ।
कार्यक्रममा रुपिन्द्रले रामेशको किताबमाथि केन्द्रित भएर उनका साङ्गीतिक यात्रा र बालापनका विषयमा चर्चा गर्नुभएको थियो । वि.सं. २००१ असार ८ गते पाल्पामा जन्मेका उनलाई रुपिन्द्रले ७५ वर्षे ठिटोको संज्ञा दिँदा रामेश समेत खुशी देखिएको थियो । ‘मैले १८ वर्षे बूढो पनि देखेको छु, ८० वर्षे ठिटो पनि देखेको छु’ उहाँले भन्नुभयो । आफूमा अझै पनि धेरै काम गर्ने अभिलाषा बाँकी नै रहेको व्यक्त गर्नुभयो ।
तीन वर्षकै उमेरमा तबला बजाएर जनतालाई चकित बनाएका जनताका गायक रामेशले अहिले नेपालमा सच्चा कुम्यनिष्ट नै नभएको टिप्पणी गर्नुभयो । ‘मानिस असल काम, विचार र चरित्रले प्रगतिशील र कम्युनिष्ट हुन्छ’ उहाँले भन्नुभयो, ‘हामी दास होइन, हुनुहुँदैन । जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ ।’
‘हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाइन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन र भन्न पाइन्छ’, रामेशले भन्नुभयो, ’भरिया, किसान, अन्य मजदुरको जीवन अझै बदलिएको छैन ।’ गणतान्त्रिक शासन आउँदा पनि नेताहरूको प्रवृत्ति हिजोकै राजा र राणाको जस्तो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गर्नुभयो । अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमुक नेताको स्वार्थ पूरा गर्ने साधन मात्र बनाइएको उहाँको आरोप थियो ।
राल्फा आन्दोलनबाट नेपाली सङ्गीत परम्परामा दह्रो हस्तक्षेप गर्दै प्रगतिशील साङ्गीतिक अभियानमा क्रियाशील रामेशको ‘बालापन जीवनको’ बाल्यकालका सम्झनाहरु समेटिएको किताब हो । पारिजातको प्रेरणाबाट राल्फा जन्मेको स्रमण गर्दै उहाँले नेपाली सङ्गीतका क्षेत्रमा राल्फाले नयाँ मोड ल्याएको दाबीसमेत गर्नुभयो ।
शृङ्खलाबद्ध रुपमा युवापन र त्यसपछिको जीवनका संस्मरणहरु पनि समेटेर किताब लेख्ने रामेशले बताए । जनताका गीत गाउँदा कैयौँ हण्डरहरु खानुपरे पनि कुनै गुनासो नरहेको रामेशको भनाइ थियो ।
बहस कार्यक्रम पछि उहाँले सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरुको साथमा नयाँ पुरना गरी नौ ओटा गीत समेत प्रस्तुत गर्नुभयो । मञ्चका कलाकारहरु काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, सङ्गीता श्रेष्ठ, रेशम बी.सी., डी.बी. बान्तवालगायतले उनलाई लाइभ प्रस्तुतिमा साथ दिएका थिए ।
र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका सचिव अनुपमणि अधिकारीको सञ्चालनमा सम्पन भएको कार्यक्रमको स्वागत सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरुले गीतमार्फत गरेका थिए ।

