रिपब्लिकनका सांसद समेतको भोटपछि ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

बारम्बार विवादित अभिव्यक्ति दिदैं आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको संसदले खेद प्रस्ताव पारित गरेको छ ।

अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा खेद प्रस्ताव २४० मतले पारित भएको सिएनएनको समाचारमा जनाएको छ । ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि खेद प्रस्तावको पक्षमा भोट दिएका हुन्् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरु अलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशिदा तलिब, अइयाना प्रेस्ली र इल्हान ओमारविरुद्ध ट्वीटरमा कडा टिप्पणी गर्नुभएको थियो । सांसदहरुप्रति लक्षित गर्दै जहाँबाट आएको हो त्यही गए हुन्छ भन्ने आशयको ट्वीट गर्नुभएको थियो ।

उहाँले कम्युनिष्ट र समाजवादीहरुले पनि अमेरिका छाडे हुने टिप्पणी गर्नुभएको छ । पछिल्लो समयमा ट्रम्पका टिप्पणीप्रति कडा आलोचना भएको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले आफू नश्लवादी नभएको जिकीर गर्दै आउनुभएको छ ।

Facebook Comments