स्ववियु निर्वाचनको कार्यतालिका खोई ?
त्रिभुवन विश्वविद्यालयले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव घोषणा गरेपनि निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको छैन् । जसले गर्दा स्ववियु निर्वाचन हुने नहुने अन्यौल सिर्जना भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले भने त्रिभुवन विश्वविद्यालय विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
कार्यतालिका घोषणा नभएपछि सोमबार अर्थात् भोली ११ बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ, मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले जनाएका छन् ।

यसअघि सत्तारुढ विद्यार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको थियो । अध्यक्षद्वय नविना लामा र रंजित तामाङको उपस्थितिमा माघ २८ गते सोमबार बसेको बैठकले फागुन २ गतेसम कार्यतालिका प्रकाशित नगरे कडा संघर्षमा उत्रिने निर्णय गरेको थियो ।संगठनले त्रिविसँगै स्ववियु अवधि पुगेका अन्य विश्वविद्यालयहरुलाई समेत अविलम्ब निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग गरेका छन् ।

