आलु महोत्सव तयारी तीव्र, आमा समूह र युवा समूहले सघाउने
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने भएका छन । मूल आयोजक समितिले शनिवार राखेको आमा समूह तथा युवाको भेलाका सहभागिले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन ।
नमूना आमा समूहकी लक्ष्मी बास्तोलाले महोत्सवलाई आमा दिदीबहिनीले भरपुर साथ दिने प्रतिबद्घता जनाउँदै यो हेमजाको चाड भएको उल्लेख गर्नुभयो । त्यस अवसरमा नवजागरण महिला समूहकी सरस्वती तिम्सिना, नहरचोक आमा समूहकी मनु तिम्सिना, जनकल्याण आमा समूहकी धना तिम्सिना हेमजा आमा समूहकी उमा आचार्य त्रिपाठी, जनजागृति आमा समूहकी मुरली तिम्सिना लगायतले महोत्सवमा सघाउने बताएका थिए ।
त्यसैगरी युवाहरुले पनि महोत्सवलाई सफल बनाउने दायित्व आफुहरुको पनि भएको भनाई राखेका छन ।कार्यक्रममा दिव्यदृष्टि युवा क्लवका मनोज कार्की, पुर्व खेलाडी सुधिरजंग थापा, विष्णुपादुका क्लवका टिम क्याटेन रोशन केसी, हेमजा युवा संजाल तथा हेमजा युनाईटेडका प्रतिनिधिले भनाई राखेका थिए ।
भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका वासीन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ । त्यस्तै आमा समूह अनिवार्य रुपमा पोशाकमा आउनुपर्ने, उपस्थिती र कार्य मूल्याङनलाई आधार मानी तिन आमा समूहलाई पाँच हजार र सम्मानपत्रले सम्मान गर्ने, झाँकीका लागि पहिला नै समूह दर्ता गर्नुपर्ने लगायतका निर्णय पनि गरिएकोे छ ।
त्यस अवसरमा मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्का, महासचिव वसन्त कुमार श्रेष्ठ, आर्थिक संयोजक मदन थापा, झाँकी व्यवस्थापन समितिका जयराम तिमिल्सीना, आमा समूह परिचालन समितिकी सिर्जना सापकोटा, सल्लाहकार दानबहादुर थापा, रामचन्द्र त्रिपाठी लगायतले सहजीकरण गरेका थिए ।
महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने अर्थ संकलन उपसमितिका संयोजक मदन थापाले जानकारी दिनुभयो ।
महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेश स्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।

