चितवन जिल्लाभर सिसिटिभी जडानका लागि पहल शुरु

शान्ति सुरक्षा मजबुत बनाउन र सवारी दुर्घटना न्यूनकरणका लागि चितवन जिल्लाभर सिसिटिभी जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्र, राजमार्ग, दुर्घटना ग्रस्त क्षेत्र र मुख्य चोकहरुमा सिसिटिभी जडान गर्न लागिएको हो । सिसिटिभी जडानका लागि जिल्लामा सरोकारवालाको समिति गठन गरि सिसिटिभी आवश्यक क्षेत्रको पहिचान गर्न शुरु गरिएको छ । जिल्लाका अधिकांस क्षेत्रमा सिसिटिभी नहुँदा तथा भरतपुरमा भएका सिसी क्यामरा मर्मतमा वेवास्ता गरिदा अपराध अनुसन्धानमा समस्या हुनुका साथै चोरीका घटनामा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, प्रहरी, ट्राफिक,उद्योगी व्यवसायी, द थर्ड भिजन, इन्टरनेट प्रदायक संस्थाको टोलीले जिल्लामा सिसिटिभी राख्न आवश्यक क्षेत्रको पहिचान गरेको छ । समितिले एकसाता भित्र जिल्लामा आवश्यक सिसिटिभी र त्यसको लागत जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ । प्रतिवेदन स्वीकृत भएपछि स्थानीय तहसंगको सहकार्यमा सिसिटिभी जडान कार्यलाई अघि बढाइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकामा समेत सिसिटिभी जडान गर्न लागिएको हो ।

Facebook Comments