जनप्रतिनिधि नै सामाजिक सुरक्षा भत्ता बाड्दै

राज शर्मा

पछिल्लो पटक नेपाल सरकारले सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत् वितरण गर्दै आएको छ । जस्का लागि भत्ता लिने व्यक्तिले तोकिएको बैंकमा खाता खोल्नुपर्दछ र सम्बन्धित बैंकमा पुगेर आफूले पाउने सामाजिक सुरक्षा भत्ता लिनुपर्ने हुन्छ ।

सोही प्रक्रिया अनुसार नै देशभर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । यस प्रक्रियाले बैंकको शाखा नजिक नहुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने बृद्ध ज्येष्ठ नागरिकलाई भने कष्ट थपिएको छ भने भत्ता बुझ्न जाने र आउने गर्दा खर्च समेत बढेको छ ।

कतिपय अवस्थामा बैंकका प्रक्रियाले समेत थप जटिल बनाएको छ सामाजिक सुरक्षा भत्ता बुझ्न । अधिकांश ज्येष्ठ नागरिक हिडडुल गर्न नसक्ने, हस्ताक्षर गर्न नसक्ने हुँदा औंठाछाप लगाउने भएकाले दोस्रो व्यक्तिले भत्ता नदिने हुँदा थप समस्या भएको छ ।

यही समस्यालाई दृष्टिगत गर्दै मादी गाउँपालिका वडा नं. ९ का अध्यक्ष तोरणबहादुर गुरुङले भने सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गर्दै आउनुभएको छ । बैकिङ प्रक्रिया सबै पुरा गरेर उहाँले नगद नै सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई दिने गर्नुभएको छ । जसले गर्दा असक्त अवस्थाका व्यक्तिहरुलाई ठूलो सहयोग भएको छ ।

उहाँले वडाभित्रका असक्त अवस्थाका १५० भन्दा बढी ज्येष्ठ नागरिक एवं अशक्त व्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको घरघरमा पुगेर वितरणको व्यवस्था मिलाउनुभएको हो । गुरुङका अनुसार वडामा करिव ३४० जनाजतिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् । बाँकीले भने आफ्नै हिसावले बैंकबाट भत्ता बुझ्ने गरेका छन् ।

घरमा वडाअध्यक्ष स्वयंले भत्ता ल्याउने व्यवस्था मिलाएपछि नाैबहादुर कामीले खुशी व्यक्त गर्नुभयाे । वहाँजस्तै उरकुमारी गुरूङले पनि वडाध्यक्षलाइ धन्यवाद दिदैं खुशी व्यक्त गर्नुभयाे ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि कार्यालय समयभन्दा अतिरिक्त समयमा समेत गुरुङ खट्दै आउनुभएको छ । जस्ले गर्दा सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बुझ्न पोखरा जानुपर्ने बाध्यता टरेको छ भने खर्च समेत जोगिएको छ । त्यतिमात्र नभई गुरुङले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम वडाभित्रका विपन्न नागरिकका लागि प्रदान गर्दै आउनुभएको छ ।

Facebook Comments