महायज्ञ गरी एम्बुलेन्स सेवा सञ्चालन

महायज्ञबाट संकलन गरिएको रकमले तनहुँको किहुँमा एम्बुलेन्स सेवा शुरु गरिएको छ । एम्बुलेन्स खरिद गरी गाउँमा नै सेवा उपलब्ध गराउने उद्देश्यले भिमाद नगरपालिकाको वडा नं. १ र २ को संयुक्त आयोजनामा गएको साउन २८ गते देखि भदौ ५ गतेसम्म किहुँको उड्सिङ भञ्ज्याङमा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिएको थियो । सो महायज्ञबाट करिब ३५ लाख रुपैयाँ दान संकलन भएको थियो ।

महायज्ञको उदेश्य अनुरुप नै किहुँ अरुणोदय स्वास्थ्य परोपकार संस्थाको मातहतमा शनिबार देखि एम्बुलेन्स सेवा सुचारु गरेको वडा नं. १ का अध्यक्ष सोमनाथ शर्माले जानकारी दिनुभयो । भन्सार छुट सुविधा उपयोग गरी करिव ४० लाख पर्ने गाडीलाई १० लाख २० हजार ५ सय २५ रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो ।

महायज्ञ सकिए लगत्तै एम्बुलेन्स खरिद प्रकृया सुरु गरेपनि भन्सार छुटका लागी स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयको सिफारिस पाउन समय लागेकाले गाउँमा एम्बुलेन्स ल्याउन ढिलाई भएको शर्माको भनाई छ । दुई वटा एम्बुलेन्स खरिद गर्ने भनेर महायज्ञ गरेको भएपनि हाल एउटा मात्रै खरिद गरिएको हो ।

केही समय एउटै एम्बुलेन्स संचालन गरिने र दुई वटै वडाबासीलाई सेवा दिन नभ्याउने अवस्था आए अर्को एम्बुलेन्स खरिद गर्न प्रकृया अगाडी बढाउने शर्माले बताउनुभयो । गाउँमा सार्वजनिक सवारीका केही साधनहरु चलेपनि चाहिएको समयमा उपलब्ध नहुने कारण समस्या भोग्दै आएका गाउँलेहरु एम्बुलेन्स सेवा शुरु भएपछि खुशी भएका छन् ।

गाउँमा कोही बिरामी परेको खण्डमा भिमाद बजारबाट एम्बुलेन्स मगाउने नपाए ट्याक्सी बोलाई घण्टौ पर्खिएर उपचारको लागि जानुपर्ने बाध्यता हटेको गाउँले बताउँछन् । समयमै उपचार नपाउँदा हुने जोखिम अब हट्ने गाउँलेको विश्वास छ ।

Facebook Comments