उर्जा बचाऊँ, प्रतिष्पर्धी क्षमता बढाऔँ : कार्यबाहक अध्यक्ष कोइराला
पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने उहाँको धारणा रहेको छ ।
कार्यबाहक अध्यक्ष कोइराला पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय बाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सोमबार आयोजना उर्जा बचत तथा अनुदानबारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले दुई वर्षअघि देशले उर्जा संकट भोग्दैगर्दा उद्योग÷व्यवसायको लागत बढेको स्मरण गर्दै उर्जाको चुहाबट नियन्त्रणतर्फ पनि ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो । उर्जाको महत्व बुझेर नै जर्मन विकास बैंकको सहयोगमा नेपालको राष्ट्रिय बाणिज्य बैंकमार्फत उर्जा बचतको लागि अनुदानको व्यवस्था गरिएको उहाँको भनाई थियो ।
जर्मन सहयोग संस्था ( जिआइजेड) उर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो । जर्मन विकास बैंक मार्फत् आउने सो अनुदान रकम राष्ट्रिय बाणिज्य बैंक मार्फत् प्रवाह हुने गर्दछ । ठूला, साना र मझौला सबैखाले उद्योग/व्यवसायमा उर्जा बचतको लागि यो परियोजना मार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था रहेको छ ।
उर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी÷व्यवसायीहरुले आफ्नो प्रतिष्ठानले खपत गर्ने उर्जा अडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगहरुले बैंकबाट ऋण समेत लिएको हुनुपर्नेछ ।
१० लाख लगानी भएका उद्योगलाई उर्जा बचतको लागि ३० प्रतिशत, मझौला उद्योगलाई २० र ठूला उद्योगको हकमा १५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने आइएसओ १४००१ तथा आइएसओ २६००० प्राप्त उद्योग व्यवसायलाई चार प्रतिशत थप अनुदान प्रदान गरिने राष्ट्रिय बाणिज्य बैंकका कर्पोरेट तथा सेल्स बिभाग प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकमार्फत अनुदान माग गरेमा थप ५ प्रतिशत अनुदान थपिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले उर्जा अडिटले चुहाबट नियन्त्रण गरी लागत घटाउन मद्धत पुर्याउने भएकाले यो परियोजनाबाट लाभ लिन उद्योगी÷व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले परियोजनाबारे थप जानकारी र सहयोग चाहिएमा पोखरा उद्योग वाणिज्य संघले सघाउने वचतबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदास, राष्ट्रिय बाणिज्य बैंकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख ऋषिराम ढकाल, जर्मन विकास बैंकका प्राविधिक विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय, राष्ट्रिय बाणिज्य बैंकका कर्जा बिभाग उपप्रबन्धक होमराज भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण विभाग प्रमुख उत्तम कुँवर, पोखरा फुड्सका बलराम बराल,पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिराज पन्त,सोवित पौडेल,फर्निचर व्यवसायी संघको तर्फबाट हीरामणि पण्डित ,शान्ति इञ्जिनियरिङका यज्ञप्रसाद रेग्मी,आर्या द रिसिोर्टका अमितराज मुल्मी,लगायतले उर्जा बचतका प्राप्त हुने अनुदानको प्रक्रियाबारे जानकारी दिँदै सो परियोजनाबाट लाभ लिन व्यवसायीहरुसँग आग्रह गर्नुभएको थियो ।

