सीमामा पर्खाल लाउने बजेट स्वीकृत गरे आप्रवासी फिर्ता रोक्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासी स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको छ । तर विपक्षी डेमोक्र्याटले प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्र्याटबीच मेक्सिकोको सीमामा पर्खाल लगाउने बजेटलाई लिएर सहमति नबनेका कारण संघीय कार्यालयहरु आंशिक बन्द भएको २९ दिन पुगेको छ । राष्ट्रपति ट्रम्पले दुई किसिमका आप्रवासीलाई तत्काल स्वदेश नफर्काइने प्रस्ताव गर्नुभएको थियो ।

पहिलोमा अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिएका मानिसका करिब सात लाख बालबालिका रहेका छन् । यी बालबालिकाप्रति डेमोक्र्या्टिक पार्टीले आवाज उठाउँदै आएको छ । साथै संरक्षित व्यक्तिको सूचीमा परेका तर म्याद गुज्रेका करिब तीन लाख आप्रवासी दोस्रो श्रेणीमा छन् ।

राष्ट्रपति ट्रम्पले यी सबै करिब १० लाख आप्रवासीलाई तत्कालै स्वदेश नफर्काउने बताउनुभएको छ । उहाँले यी छुटहरुले अमेरिकी आप्रवासन नीतिमा सुधारका लागि परस्पर विश्वास निर्माण गर्न सघाउने बताउनुभयो । यसको बदलामा, ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्न कंग्रेस समक्ष करिब ६ अर्ब अमेरिकी डलर पारित गर्न तयार हुनुपर्ने अडान राख्नुभएको छ । तर, विपक्षी डेमोक्र्याट पार्टीले पटकपटक उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

Facebook Comments