भरतपुर महानगरपालिकामा आर्थिक अनियमितता भएको उपप्रमुखकै आरोप
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले नगर प्रमुखको कार्यशैलीप्रति १२ बुँदे असहमति सार्वजनिक गर्नुभएको छ । साथै उपप्रमुख शाहले महानगरमा आर्थिक अनियमिता भएको आरोप समेत लगाउनुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गर्दै प्रमुखको कार्यशैलीप्रति १२ बुँदे असहमति सार्वजनिक गर्नुभएको हो ।
नगर प्रमुख रेनु दाहालले आफूमात्रै सर्वशक्तिशाली र एकाधिकार जमाउने शैलीप्रति आफ्नो असहमति रहेको विज्ञप्तिमा उप प्रमुख शाहले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो असहमति सम्बोधनका लागि २४ औं बैठकसम्म आवाज उठाउँदा पनि सुनुवाई नभएपछि आफूले जनतासामू सार्वजनिक गर्न बाध्य भएको जनाउनुभएको छ ।
असहमतिको पहिलो नम्बर बुँदामा लेखा समिति गठन नगरेर अनियमितता गरेको आरोप लगाईएको छ भने दोश्रो नम्बर बुदामा हालसम्म जिन्सी समिति गठन नगरिएको उल्लेख छ । महत्वपूर्ण समिति गठनमा एकलौटी गरिएको र महानगरभित्र चरम आर्थिक अनियमितता हुने गरेको क्रमशः तेस्रो र चौथो नम्बर बुदामा उल्लेख छ । उप(प्रमुख शाहले आस्था र बिचारका आधारमा महानगरभित्र कर्मचारीहरुसमेतलाई दुख दिने गरिएको जिकरिु समेत गर्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ

काँग्रेसको आपत्ति
यसैवीच नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाभित्र विकसित घटनाक्रमप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेसका तर्फबाट जारी विज्ञप्तिमा भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संजालमार्फत धम्किपुर्ण भाषा प्रयोग गरि त्रासदीपुर्ण वातावरण सृजना गरिएकोप्रती नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । जिल्ला सचिव उत्तम जोशीले बिज्ञप्ति जारी गर्दै धम्की दिनेलाई छानविन र कडा कार्वाहीको माग गर्नुभएको छ ।

