बाबुको पहिचान नभएपनि नागरिकता
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बाबुको पहिचान नखुले पनि आमाको नाममा नागरिकता दिने विषयमा सहमति जुटेको छ । समितिमा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने सहमति भएको हो ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयक माथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् । यद्यपि नागरिकता लिन जाँदा आमाले बाबुको पहिचान हुन नसकेको व्यहोरा भने उल्लेख गर्नुपर्नेछ ।
समितिको निर्णय संघीय संसदका दुवै सदनबाट पारित भए नागरिकता बनाउन जाँदा महिलाले बाबुको पहिचान हुन नसकेको मात्र व्यहोरा जानकारी गराए पुग्छ । बैठकमा नागरिकतामा उपनाम पनि राख्न पाइने भएको छ । नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्नो समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको छ ।
नयाँ ऐनअनुसार नागरिकता लिने कुनैपनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदाय भित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिम नागरिकताको प्रमाणपत्र लिनसक्ने विधेयकमा व्यवस्था गरिएको छ । त्यस्तै, नागरिकता माग्न कुनै नागरिक सम्बन्धित अधिकारीसमक्ष पुगेको अवस्थामा इन्कार गर्न नपाउने व्यवस्था समेत राखिने भएको छ ।

