अस्ट्रेलियामा आप्रवासीलाई दिइने सुविधा कटौति, ग्रामीण क्षेत्रमा जान प्रोत्साहन
अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको हो ।
क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा अध्यागमन मन्त्री डेभिड कोल्म्यान र जनसंख्या मन्त्री एलन टज समेतको उपस्थितिमा प्रधानमन्त्री मोरिशनले यस्तो घोषणा गर्नुभएको हो । अस्ट्रेलिया भित्रिने स्थायी आप्रवासीको संख्यालाई आगामी ४ वर्षका लागि प्रति वर्ष १ लाख ९० हजारबाट अब १ लाख ६० हजारमा सीमित गर्ने सरकारले जनाएको छ ।
साथै सिपयुक्त कामदारलाई देशको ग्रामीण क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेपछि मात्र स्थायी भिसाको लागि आवेदन हाल्न पाउने प्रावधान राखिएको छ । जनसंख्या व्यवस्थापन, भौतिक संरचना विकासलाई व्यवस्थित बनाउन यस्तो नीति ल्याईएको प्रधानमन्त्री मोरिशनले स्पष्ट पार्नुभयो ।
परिवर्तित नियम अनुसार सिड्नी र मेलबर्नजस्ता सहरका संरचना र यातायात सेवामा बढेको दबाबलाई कम गरिने उल्लेख छ । सिपयुक्त कामदारलाई देशका ग्रामीण स्थानमा बस्न सहयोग गर्न नयाँ ग्रामीण भिसाहरूका लागि २३ हजार स्थान छुट्याइने छ ।
आप्रवासीले यसअघि २ बर्षमा स्थायी बसोबासका लागि आवेदन गर्न पाउनेमा अव ३ बर्षपछि मात्र आवेदन दिन सक्ने बताइएको छ । अस्ट्रेलियामा ग्रामीण क्षेत्रमा सीपयुक्त कामदार नपाइएकाले यस्तो नीति अवलम्बन गर्नुपरेको जनसंख्या मन्त्री एलन टजको भनाई छ ।
स्थानीय र अन्तर्रा्ष्ट्रिय विद्यार्थीलाई ग्रामीण स्थानमा रहेका विश्वविद्यालयमा आकर्षित गर्न सरकारले १ हजार विद्यार्थीलाई १५ हजार डलरसम्मको छात्रवृत्ति पनि प्रदान गर्ने कार्यक्रम अगाडि सारेको छ ।

