न्युजील्याण्डमा हतियार सम्बन्धि कानुन परिवर्तन
न्युजिल्याण्डले हतियार सम्बन्धि कानुनमा परिवर्तन गरेको छ । क्राइस्ट चर्च मस्जिद नरसंहारको ६ दिनपछि न्युजिल्याण्ड सरकारले एसल्ट राइफल र उच्च क्षमताका म्याजेजिन राख्न नपाउने गरी कानुन परिवर्तन गरेको हो । परिवर्तित कानुन अप्रिल ११ देखि कार्यान्वयन हुने बताइएको छ ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बिहीबार पत्रकार सम्मेलन गरी सबै प्रकारका सैन्य प्रयोजनमा अर्धस्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्यागेजिन आमनागरिकले राख्न नपाउने गरी कानुन परिवर्तन गरिएको जानकारी दिनुभयो ।
मार्च १५ को घटनाले हतियार सम्बन्धि कानुन पुनरावलोकन गर्नेबारे बहस शुरु भएको थियो । मुलुकलाई अझ बढी सुरक्षित ठाउँ बनाउन र हाम्रो बन्दुक कानुनलाई बलियो बनाउन कानुन परिवर्तन गर्नुपरेको प्रधानमन्त्री आर्डेनको भनाई रहेको छ ।
उहाँका अनुसार शुक्रबारको नरसंहारमा प्रयोग भएका सबै हतियारमाथि अब प्रतिबन्ध लगाइएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाको १० दिनभित्र हतियार कानुन परिवर्तन गर्ने निर्णय गरेको थियो । अप्रिल ११ सम्म नागरिकलाई आफूसँग भएका प्रतिबन्धित हतियार राज्यलाई बुझाउन भनिएको छ ।

