इरान र अमेरिका द्वन्द्व: विनाशका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी

इरानले आफ्नो ड्रोन खसालेपछि आक्रमणको तयारीमा लागेको अमेरिका पछाडि हटेपछि तत्कालको लागि संकट टरेको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व भड्किए विनाशको सामनाका लागि तयार रहन इरानलाई चेतावनी दिनुभएको छ ।

अमेरिकाको ‘एनबीसी’ टेलिभिजनसित कुरा गर्दै ट्रम्पले अमेरिका वार्ताका लागि खुला रहेको त्यसका लागि आणविक हतियार विकासको कार्यक्रम स्थगित गर्नुपर्ने बताउनुभयो ।

अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १० मिनेटअघिमात्रै ट्रम्पले उक्त योजना स्थगित गरेको समेत उल्लेख गर्नुभएको छ ।

अमेरिकी जासुसी ‘ड्रोन’को जवाफमा इरानका विभिन्न तीनओटा ठाउँमा आक्रमणको योजना बनाएपनि १५० जना मानिस मारिने भएपछि आक्रमण नगरेको उहाँको भनाई छ ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालेको बताएको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला खसालिएको दाबी गरेको छ ।

यता, अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानलाई खाडी र आसपासका समुद्रमाथिका इराननियन्त्रित हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

Facebook Comments