अनसनरत डा.केसीको जीवनरक्षाका लागि मानव अधिकार आयोगको ध्यानाकर्षण
राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै संवादको माध्यमबाट समस्या समाधानका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै सरकार र डा.केसीवीच भएको विगतमा भएको चिकित्सा शिक्षासम्बन्धी सम्झौताहरुको पालनाका लागि संवाद थाल्न आग्रह गरको छ।
आयोगका सचिव सचिव वेद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा शिक्षा मानवअधिकारसँग जोडिएकाले गम्भीरतापूर्वक लिएर वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।
आयोगको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको पनि जताएको छ ।
आयोगको टोलीले केसीको जीवनरक्षाका बिषयमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १४ दिनदेखि १६ औंपटकको अनसनमा बसिरहनुभएको छ ।

