कस्मिर मुद्दाका विषयमा अमेरिका र भारतकाे फरक दावी सार्वजनिक

कस्मिर मुद्दा समाधानका लागि भारतले अनुराेध गरेकाे अमेरिकी भनाइ साँचाे नभएकाे भारतले प्रतिक्रिया जनाएकाे छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिर मुद्दा सुल्झाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मध्यस्थताका लागि आग्रह गरेको बताउनुभएकाे थियाे ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग ह्वाइट हाउसमा सोमबार भएको भेटका क्रममा ट्रम्पले केही समयअघि मोदीले आफूलाई त्यस्तो आग्रह गरेको बताउनुभएकाे हाे ।

भेटपछि पाकिस्तानी प्रधानमन्त्री खानलाई ७० वर्षदेखि कस्मिरमा जारी द्वन्द्व सल्टाउन अमेरिकाले सहयोग गर्न सक्छ भनी सोधिएको थियो।

जवाफमा इमरानले राष्ट्रपति ट्रम्प प्रमुख भएको शक्तिशाली देश अमेरिकाले मात्र भारत र पाकिस्तानलाई सँगै ल्याउन सक्ने बताउनुभयाे।

त्यसपछि ट्रम्पले केही साताअघि मोदीसँग भएको आफ्नो भेटको प्रसंग सुनाए। जुन अन्तिम साता जापानमा भएको जी-२० सम्मेलनका क्रममा ट्रम्प र मोदीबीच भेट भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ट्रम्पलाइ मध्यस्थ या निर्णायक के बन्ने भनेर साेधेपछि मध्यस्थकर्ता बनेर सहयाेग गर्न सक्ने बताएकाे ट्रम्पले उल्लेख गर्नुभयाे ।

वासिङट्नबाट ट्रम्पको यो भनाइ सार्वजनिक भएको केहीबेरमै भारतीय विदेश मन्त्रालयले भने त्यसलाइ खण्डन गरेकाे छ । ट्रम्पकाे उक्त भनाइलाई भारतले अस्वीकार गरेकाे हाे ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सोमबार राति ट्वीट गर्दै ट्रम्पको भनाइबारे मिडियाबाट जानकारी पाएको तर मोदीले त्यस्तो आग्रह नगरेको  बताउनुभयाे ।

आणविक राष्ट्रहरू भारत र पाकिस्तानबीच कस्मिरबारे ७ दशक लामो विवाद जारी छ। यी दुई देशले दुई पटक युद्ध गरिसकेका छन्।

पछिल्लो समय गत फेब्रुअरीमा भारत प्रशासित कस्मिरको पुलवामा भारतीय सैनिक बलमाथि भएको आक्रमणपछि दुई देशको तनाव झन् चुलिएको छ।

कस्मिर विवादबारे पाकिस्तानले निरन्तर रूपमा अन्तर्राष्ट्रिय सहयोगको माग उठाइरहेको छ। यो मुद्दा समाधानका लागि  अन्तर्राष्ट्रिय मध्यस्थता हुनुपर्ने पाकिस्तानको भनाइ छ।

भारतले भने तेस्रो पक्षको संलग्नता अस्वीकार गर्दै आएको छ।   

Facebook Comments