कास्कीको अर्मलामा अलैंची खेती सुरु
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा अलैंची खेती आरम्भ गरिएको छ । सव डिभिजन वन कार्यालय कास्की र वडा कार्यालय १६ को सहयोगमा अर्मलास्थित करिब ४० रोपनी वन क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तर्गत अलैंची खेती आरम्भ गरिएको जिल्ला अलैंची कृषक संघ कास्कीका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
अलैंची खेती प्रवद्र्धन गर्न सव डिभिजन वन कार्यालय कास्कीले १० हजार विरुवा सहयोग उपलब्ध गराएको थियो । कार्यालयले यस अघि डिही अर्मला अलैंची कृषक समूहमा आबद्ध ३१ कृषकलाई निःशुल्क तालिम प्रदान गरेको थियो । त्यस्तै पोखरा महानगरापालिका वडा नं. १६ को कार्यालयले ४० हजार मूल्य बराबरका कृषि औजारहरू सहयोग गरेको थियो ।
यसबीच पोखरा महानगरपालिका वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले अर्मलामा लागू गरिएको कृषि वन प्रर्वद्धन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उहाँले पोखरा महानगरपालिकाले कृषि र वन क्षेत्रको प्रवद्र्धनमा विषेश कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
वडाध्यक्ष आचार्यले कृषि औजारहरु हस्तान्तरण गर्नुभएको थियो । सव डिभिजन वन कार्यालय कास्कीका अधिकृत दिपकराज पण्डितले अलैंची खतीको प्रवद्र्धनमा कृषकका लागि आवश्यक प्राविधिक सहयोग हुने बताउनुभयो ।
अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालसुवा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अलैंची कृषक संघ कास्कीका सचिव जीतबहादुर बस्नेत, कृषकहरू जयलाल भट्टराई, शारदा बस्नेत, शुशिला भट्टराई, चिनमाया सुवेदी श्रेष्ठ लगायतका वक्ताले वनपदावरको महत्वबारे चर्चा गरेका थिए ।

