कानुन आवश्यकता अनुसार मात्र बनाउने होः सांसद विडारी

राष्ट्रिय सभाको प्रत्यायोजित विधायन र सरकारी आश्वासन समितिका सभापति एवं सांसद रामनारायण विडारीले कानुन आवश्यकता अनुसार मात्र बनाउनुपर्ने बताउनुभएकाे छ।

आवश्यकभन्दा बढी कानुन बनाउने भन्दा पनि आबश्कयताको आधारामा कानुन बनाउनुपर्ने सांसद विडारीकाे सुझाब छ ।

आज पोखरामा राष्ट्रिय सभाको प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति विडारीले यस्ताे बताउनुभएकाे हाे । उहाँका अनुसार धेरै कानुन बनाए एक संग अर्को बाझिने र कार्यान्वयनमा समस्या हुने बताउनुभयाे ।

गण्डकी प्रदेशका सभामुख नेत्रानाथ अधिकारीले सरकार भन्ने तर दायित्व नदिने भन्दै संघिय सरकारले प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान संग बाझिने गरि बनेका कानुनलाई पास नगर्न समेत राष्ट्रिय सभालाई आग्रह गर्नुभयो । राष्ट्रिय सभाबाट पास भएपछि कानुन कार्यान्वयन गर्न प्रदेशलाई दवाब पर्ने भन्दै सभामुख अधिकारीले प्रतिनिधि सभाले पास गरेपनि संविधान र संघियतासंग बाझिने कानुन पारित नगर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशले आफ्नो कानुन बनाउने बेला छफफल र बहस मार्फत बनाउने गरेको बताउनुभयो ।

मन्त्री चुमानले मन्त्रालयले निर्माण गर्ने कार्यविधि क्याविनेटमा छलफल गरेर पारित गर्ने गरेको बताउनुभयो ।

राष्ट्रिय सभाको प्रत्यायोजित विधायन र सरकारी आश्वासन समितिका सदस्य राधेश्याम अधिकारीले छाता ऐन बनाएर एउटै कार्यविधि बनाएर काम गर्न सुझाब दिनुभयो ।

गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले संघका समिति र प्रदेशका समितिवीच सहकार्यमा जाेड दिनुभयाे । उहाँले संघको समितिका बैठकहरुमा प्रदेशका समितिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सामसद मायानाथ अधिकारी,गायत्री गुरुङ,पियारी थापा,राजीव पहारी,मन बहादुर गुरुङ, हरिशरण आचार्य लगायतले राष्ट्रिय सभाको प्रत्यायोजित विधायन र सरकारी आश्वासन समितिको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

Facebook Comments