लेनदेनमा विपक्षी फसाउन अपहरणकाे नाटक
पाेखराका एक व्यक्तिले लेनदेन विवादमा आफु अपहरणमा परेको नाटक गरेकाे खुलासा भएकाे छ । यसरी अपहरणमा परेकाे नाटक गर्ने पोखरा ११ फूलवारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाइ प्रहरीले पक्राउ गरेकाे छ ।
पाैडेलले गत शनिवार दिउँसो अन्दाजी साढे १ वजेको समयमा आफु अपहरणमा परेको भनि प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खाेजतलास गरेकाे थियाे ।
निजले दिएको सुचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरी खोजतलास कार्य शुरु गरेको तर पछि अपहरणकाे नाटक गरी लेनदेनका विपक्षीलाइ फसाउने उद्देश्य राखेकाे पाइएकाे प्रहरीले जानाएकाे छ ।
आईतवार पौडेल रुपन्देही गई आफुलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडी भारततर्फ बोलाएको जानकारी गराएकाे प्रहरीले उल्लेख गरेकाे छ ।
पाैडेललाई आफन्तको जिम्मा लगाई पठाउन यस कार्यालयबाट अनुरोध गरी थप अनुसन्धान कार्य अगाडी बढाइएकोमा निजलाई कसैले अपहरण गरेको नभई लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुल्न आएकोले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयाे ।

