मेलम्ची विवादः नेपाली कम्पनीबाटै सम्पन्न गराउन संसदीय समितिको निर्देशन

संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले तत्काल काम थाल्ने गरी नेपाली निर्माण व्यवसायीमार्फत आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको हो ।

ग्लोबल टेन्डर आह्वान गरेर जाँदा ढिलाई हुने भएकाले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीमार्फत् नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो ।

समितिले आयोजनाभित्र देखिएका अन्य समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ । सीएमसी कम्पनीले गर्नुपर्ने करिब ९ सय मिटर सुरुङको फिनिसिङसहित सुरुंग भित्र क्यामेरा जडान गर्ने, सुरक्षाका उपकरण जोड्ने काम पनि बाँकी छ ।

उपआयोजना अन्तरगत वितरण प्रणालीका पाइप बिछ्याउने, मर्मत गर्ने काम समेत अलपत्र परेको छ । बैठकमा समितिका सदस्यले भने मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने काममा जिम्मेवार देखिएको भन्दै सरकारको आलोचना गरेका थिए । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने आयोजनाको बाँकी काम एसियाली विकास बैंकलाई सहमतिमा ल्याएर नेपाली निर्माण कम्पनीबाटै गराउने योजना समितिमा पेस गर्नुभएको थियो ।

Facebook Comments