मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह रिअयात्तुदिन चयन

मलेसियाको नयाँ राजामा पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह चुनिनुभएको छ । ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बन्नुभएको हो । मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लाहलाई नयाँ राजा घोषणा गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा जनाइए अनुसार जनवरी ३१ मा आयोजना हुने एक समारोहमा नयाँ राजा अब्दुल्लाहले सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

संवैधानिक राजतन्त्रात्मक मुलुक मलेसियामा हरेक पाँच वर्षमा देशका नौ राज्यका नौँ शाही परिवार मध्येबाट एकजनालाई देशको राजा चुन्ने प्रचलन रहेको छ । गत महिना सुल्तान मोहम्मद पञ्चमले पूर्वरुसी सुन्दरीसँग विवाह गरेको समाचार बाहिर आएपछि पुरै देशलाई अचम्मित पार्दै राजसिंहासन त्यागग्नुभएको थियो ।

त्यसपछि नयाँ राजाको खोजी सुरु गरिएको थियो र मोहम्मद पञ्चमको ठाउँमा अब्दुल्ला राजा बन्नुभएको छ । मोहम्मद पञ्चम मुस्लिम बहुल मलेसियाको इतिहासमा आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्नुअघि नै राजसिंहासन त्याग्ने पहिलो राजा हुनुहुन्छ । उहाँ दुई वर्ष मात्र राजसिंहासनमा बस्नुभएको थियो ।

नयाँ राजा अब्दुल्ला फिफासहित खेलसँग सम्बन्धित संस्थाहरूको महत्वपूर्ण भूमिकामा रहनुभएको थियो । एसियन हक्की एसोसिएसनका प्रमुख रहेका उहाँ फूटबल एसोसियसन अफ मलेसियाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।

Facebook Comments