सिरियामा आईएस पूर्णरूपमा पराजित भएकाे एसडीएफकाे दावी
अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ)ले इस्लामिक स्टेट (आईएस) जिहादी समूहलाई सिरियामा पूर्ण रुपमा पराजित गरेको जनाएको छ । आईएसले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको एसडीएफले दावी गरेको हो । ्
आईएसलाई पराजित गरेसँगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत् गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडीएफले जनाएको छ ।
एसडीएफ प्रवक्ता किनो गाब्रियलले भन्नुभयो, “सिरियाबाट आईएस पूर्णरूपमा पराजित भएको छ ।” उहाँले भन्नुभयो, “एसडीएफसँगको युद्धमा बागुजमा शुरूदेखि अन्तिमसम्म जम्मा एक हजार ६०० आईएस नेता तथा लडाकू मारिएका छन् भने २५ हजार एसडीएफको कब्जामा आएका छन् ।” यसैगरी आईएसको आक्रमणमा परी आफ्नोतर्फ मात्रै ८२ जना एसडीएफ लडाकू मारिएका र ६१ जना घाइते भएको बताइएको छ ।
आईएसविरूद्धको अन्तिम लडाइँ उसको नियन्त्रणमा रहेको बागुज इलाकालाई लक्षित गरी मार्चको शुरूमा आक्रमण थालिएको उहाँले बताउनुभयो । गाब्रियलले भन्नुभयो, “उक्त क्षेत्रमा धेरै सङ्ख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेण्टहरूमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाहीहरू मत्थर पार्न बाध्य भएको थियो ।”
“तथाकथित क्यालिफेट पूर्णरूपमा अन्त्य भएको र आईएस समूह १०० प्रतिशत पराजित भएकोे छ,“ एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्वीटमार्फत जानकारी गराएका छन् । “यो अनुपम दिनमा हामी यो जित सम्भव पार्न प्रयास गर्ने हजारौँ शहीदहरूलाई श्रद्धाञ्जलि दिन चाहन्छौँ ।“

