नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा इटाली पनि सहभागी हुने भएको छ । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि बनन लागेको सिल्क रोड परियोजनाको एक दस्ताबेजमा इटालीले शनिबार हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो ।

इटालीको निर्णयले संयुक्त राज्य अमेरिका र यूरोपेली संघ (इयू) ले इटाली र चीनलाई हेर्ने दृष्टिकोणमा असहजता ल्याउनसक्ने विश्लेषकहरूले बताएका छन् । किनकि बिआरआई आयोजनामा जोडिने विकशित राष्ट्रहरूको समूह (जी–सेभेन) मध्ये इटाली पहिलो मुलुक भएको छ ।

इटालीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र इटालीका प्रधानमन्त्री जिउसेफे कोन्टेको उपस्थितिमा उक्त २९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । इटालीका सञ्चारमाध्यमले जनाए अनुसार उक्त सम्झौता चीन र इटालीबीच ‘सिल्क रोड’ का लागि करिब आठ अर्ब अमेरिकी डलर लगानीका लागि भएको छ ।

सम्झौतापत्रमा चीनको तर्फबाट राष्ट्रिय विकाश आयोगका हे लाइफेङ तथा इटालीका उप–प्रधान तथा आर्थिक विकासमन्त्री लुइगी दि माइओले हस्ताक्षर गरेका छन् ।
Facebook Comments