किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली ११ बर्ष जेल बस्नुपर्ने

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली ११ बर्ष जेलमा बस्नुपर्ने भएको छ । बैंकिङ कसुर मुद्दामा थुनामा रहेका ज्ञवालीको वन्दी प्रत्यक्षीकरणकोको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएपछि अझै ११ वर्ष जेलमै बस्नुपर्ने भएको हो ।

न्यायाधीशहरू केदारप्रसाद चालिसे र डम्मरबहादुर शाहीको संयुक्त इजलासले ज्ञवालीको मुद्दा आइतबार खारेज गरेको हो । ज्ञवालीले मुद्दाको म्याद थाहा नपाएको, मुद्दामा प्रतिवाद गर्न नपाई दोषी ठहर गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकोमा सर्वोच्चले खारेजी गरिदएको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले चारवटा मुद्दा २०७३ असोज ४ मा फैसला गरेको थियो । पुनरावेदन अदालत पाटनले ११ वर्ष कैद १६ करोड ९५ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

ज्ञवालीले बैंकबाट श्रीमतीको नाममा ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा निकालेर दुरुपयोग गरेको बैंकिङ कसुर ठहर भएको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकबाटसमेत साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जामा दुरुपयोग भेटिएपछि ज्ञवालीलाई दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेपछि फरार ज्ञवालीलाई प्रहरीले असोज १९ मा महेन्द्रनगरबाट पक्राउ गरेको थियो ।

Facebook Comments