अमेरिकाकाे क्यालिफाेर्नियामा संकटकाल

अमेरिकाको क्यालिफोर्निया प्रान्तमा आगलागीको प्रभाव र खतरापूर्ण रहेकाे भन्दै संकटकाल घाेषणा गरिएकाे छ ।

साे प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गर्नुभएकाे हाे ।

क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।

नेवसोमले भने, ‘म राज्यको संविधानअनुसार प्राप्त अधिकारको उपयोग गर्दै लस एन्जिल्स तथा सोनोमा क्षेत्रमा आगलागीको खतरालाई मध्यनजर गर्दै संकटकालको घोषणा गर्छु ।’ अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।

यसअघि शुक्रबार सेन्टा पाउला निवासी महिला भर्जिनिया पेसोला (७०) को मृत्यु भएको बताइएकाे छ भने दमकल विभागले ५० हजारलाई घर खाली गर्न आदेश दिएको छ ।

हावाको गती अझै बढ्न सक्ने

नेशनल वेदर सर्भिसका अनुसार आइतबारसम्म हावाको गती तीब्र हुनसक्छ । यसअघि उत्तरी क्लालिफोर्नियाको वाइन कन्ट्रीमा पनि बुधबार जंगली झाडीमा आगो सल्किएको थियो ।

पछि यो आगो १६ हजार एकडमा फैलिएको थियो जसका कारण दुई हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो । अमेरिकाकाे क्यालिफाेर्निया प्रान्तमा पछिल्ला बर्षहरूमा आगलागी हुने क्रम बढेकाे छ ।

Facebook Comments