शुक्रराज माविको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीमा रहेको शुक्रराज माविको स्वर्ण महोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा प्रभातफेरी निकालिएको छ । शनिबार लुकुनस्वाँरा, काउलेपानी, कालावाङ काउरे हुँदै भुम्दीसम्म प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा विद्यालयका शिक्षक, विद्यार्थी, स्वर्ण महोत्सव मूल समारोह समितिका पदाधिकारी एवं सदस्यहरु, अभिभावक, विभिन्न उपसमितिका संयोजक गरी ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
विद्यालयले ५० औं बर्षगाँठका अवसरमा ३ दिनसम्म विशेष कार्यक्रम गर्दैछ । स्वर्ण वर्ष महोत्सवका रुपमा मनाउने क्रममा माघ १४ देखि १६ गतेसम्म त्रिदिवसीय कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम अन्तर्गत १४ गते स्वर्ण महोत्सव मूल समारोह उद्घाटन, चन्दादाताहरुलाई सम्मान, सांस्कृतिक कार्यक्रम रहेका छन् । माघ १५ गते भूतपूर्व विद्यार्थी र शिक्षकहरुको पुनर्मिलन तथा सम्मान कार्यक्रम रहेको छ भने १६ गते उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण सहित कार्यक्रम समापन गरिने विद्यालयका प्रधानाध्यापक नरनाथ बरालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुका वीचमा अतिरिक्त क्रियाकलाप गरिनुका साथै स्वर्ण महोत्सव बर्ष स्मारिका प्रकाशन गरिएको छ भने कार्यक्रमकै अवसरमा सो स्मारिकाको विमोचन गरिने बताइएको छ ।

