नेकपा सांसदद्वारा ह्वीप उल्लघंन गर्दै संसदीय बैठकमा अनुपस्थित
सत्तारुढ नेकपा सांसदले दलको ह्वीप अवज्ञा गरेपछि संसदीय सुनुवाइ समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सुनुवाइ समितिको बैठकमा कोरम नपुगेकाले स्थगित भएको हो । संसद सचिवालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाइका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो । मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै सांसद उपस्थित नभएका कारण स्थगित गरिएको छ ।
नेकपाले सोमबार सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेको थियो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका चारजना सांसदले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरूको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन ।
समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ९ जना सांसद रहेका छन । समितिको बैठकमा कोरम पुग्न आठ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्छ ।

