पोखरा १४मा अगरबत्ती बनाउने तालिम सुरु
पोखरा १४, चाउथेमा रहेकाे एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिको आयोजनामा दुई दिने अगरबत्ती बनाउने तालिम सुरु भएको छ । एकता सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्य महिलाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउने उद्देश्य सहित तालिम
आयोजना गरिएकाे हाे ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मित्रकुमारी गुरुङले सानै लगानीमा पनि महिलाहरूलाई आत्मनिर्भर बनाउन यस तालिमले टेवा पुर्याउने धारणा राख्नुभयो । तालिमको आयोजना गरेर एकता सहकारीले नमुना कार्य गरेको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य यशोदा भट्टराईले यस्ता तालिमले महिलाहरूको उद्यमशीलता विकासमा टेवा पुग्ने र महिलाहरूको आत्मनिर्भरता बढ्ने उल्लेख गर्नुभयो । एकता सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरले महिला शेयर सदस्यहरूलाई उद्यमशील बनाउँदै सामाजिक कार्यमा अग्रसर बनाउन सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिकी संयोजक रितु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारामाया थापामगर र संगीता पराजुलीले स्वागत गर्नुभएको थियो ।

