राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको ४ दिने बैठक निष्कर्षहीन

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म बसेको प्रदेशस्तरीय बैठक बिना कुनै निष्कर्ष सकिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको केन्द्रीय अध्यक्षमण्डल, जिल्ला अध्यक्षमण्डल, स्थानीय जनप्रतिनिधि, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य बैठकले कुनै निष्कर्ष ननिकाली बैठक प्रदेश १ मा सरेको छ ।

प्रदेश २ मा फागुन १०–१३ गतेसम्म बैठक बसेको थियो । बैठकमा केन्द्रीय नेतृत्व देखि प्रदेशका मन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचना भएको थियो । बैठकमा उपमेयरले मेयरको, राज्यमन्त्रीले मन्त्रीको, प्रदेश सांसदले मन्त्रीको आलोचना गरेका थिए । बैठकमा मन्त्री नै फेरबदलसम्मको कुरा उठेको थियो ।

प्रदेश सांसद बाबुलाल साहदेखि प्रमेश्वर साहसम्मले बैठकबाट ठोस निर्णय गर्न नेतृत्वलाई दबाब दिएका थिए । तर, फेरि पनि बैठकले कुनै निर्णय नै नगरिकन सकिएको हो । प्रदेशको बारेमा कुनै ठोस् निर्णय लिन सांसद तथा मन्त्रीहरुले सुझाव दिएपछि अध्यक्षमण्डलका सदस्यहरुले यसपटक ठोस निर्णय गर्ने प्रतिबद्धता बैठकमा जनाएका थिए । तर हिजो बैठक सकिए पनि केही निर्णय नगरेपछि प्रदेशका सांसद तथा जनप्रतिनिधिहरु आक्रोशित भएका छन् ।

Facebook Comments