क्यान इन्फोटेक २०१९ फागुन २० देखि हुने
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ दुई दिन पछाडि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनका कारण फागुन १८ गतेदेखि २३ गतेसम्मका लागि तय भएको इन्फोटेक २० देखि २५ गतेसम्म सञ्चालन हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सव सारिएको जानकारी दिएको हो । दसौं संस्करणको प्रदेश स्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा पछिल्ला जानकारी अवलोकन गर्ने दर्शले लिन सक्ने अध्यक्ष पौडेलको भनाई थियो ।
‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्य हामीले राखेका छौं,’ पौडेलले भन्नुभयो । इन्फोटेकको तयारीका क्रममा गण्डकी प्रदेशका ९ जिल्लामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । इन्फोटेकको तयारी पुरा भएको पनि आयोजनले जानकारी दिएको छ ।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।
इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिरहेको छ । तालिममा २१ जना सहभागी छन् । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहने बताइएको छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो ।

