अमेरिका र उत्तर कोरियावीचको वार्ता विफल, वार्ताको लागि प्रयास जारी रहने

अमेरिका र उत्तर केारियावीचकाे वार्ता विफल भएकेा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनाेइमा २ दिनसम्म चलेकेा बहुचर्चित वार्ता विफल भएको हाे । बिहीबार भियतनामको राजधानी हनोइमा भएको वार्तामा दुवै पक्षले आशातित सफलता पाउन नसकेको बताईएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले दुई नेताको वार्ताबाट कुनै साझा समझदारी बन्न नसकेकोे जनाएको छ ।

“यसपटक कुनै समझदारी भएन । तर, उनीहरुको आ–आफ्ना टिमले भविष्यमा बैठकका लागि प्रयास गर्ने” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरको भनाइ छ । “राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हनोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भएको” पनि सेन्डरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दुई नेताबीचको छलफलमा आणविक निःशस्त्रीकरण र आर्थिक एजेन्डामा छलफल भएपनि कुनै निष्कर्षमा भने नपुगेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । वार्ताकै लागि उत्तर कोरियाली नेता किमले ४ हजार किलोमिटर रेलको यात्रा गरेर भियतनाम पुगेपनि परिणाम भने हात लागेन ।

अमेरिकाले आफ्नो प्रतिस्पर्धी मुलुक उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएको छ । उत्तर कोरिया भने अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आणविक कार्यक्रम जारी राख्ने मनस्थितिमा छ ।

यसअघि, गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसबेला किमले आफ्नो आणविक कार्यक्रम रोक्नसक्ने प्रतिबद्धता जनाएपनि समय भने उल्लेख गरेका गर्नुभएको थिएन । उत्तर कोरियाली आणविक कार्यक्रमबाट उसका छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापान त्रस्त छन् । उत्तर कोरियाले अमेरिकामै मार हान्नसक्ने हतियार विकास गरेको पनि दाबी गरेको छ ।

Facebook Comments