चीनसँगको प्रमुख व्यापार नाका तातोपानी सञ्चालनमा

चीनसँगको प्रमुख व्यापार नाका तातोपानी बुधबारदेखि सञ्चालनमा आएको छ । भुकम्पले भत्काएका दुवै देशतर्फका संरचना पुन निर्माण भएपछि मुकम्प गएको लामो समयपछि नेपालको सिन्धुपाल्चोक र चीन स्वशासित क्षेत्र तिब्बतको सीमामा पर्ने तातोपानी नाका सञ्चालनमा आएको हो ।

बन्द भएको एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना गरी तातोपानी नाका पुनः सञ्चालन गरिएको हो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी भएका थिए । यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी भएका छन् ।

रिबन काटेर नाका सञ्चालनमा आएको घोषणाका साथै तिब्बतबाट ऊन बोकेर आएका कण्टेनरको स्वागत गरिएको थियो । नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ । खासाबाट ऊन ल्याउनका लागि आज बिहान मात्रै चार कण्टेनर त्यसतर्फ लागेका छन् ।

नाका पुनःसञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको छ । सोही गाउँपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।

Facebook Comments