अपहरणमा परेकी किशोरीको हत्या भएपछि प्रहरी प्रमुख बर्खास्त
रोमानियामा प्रहरी प्रमुखलाई नागरिकको सुरक्षामा लापरवाही गरेको आरोपमा बर्खास्त गरिएको छ । अपहरणमा परेकी एक किशोरीलाई आपतकालीन सुरक्षा प्रदान गर्न नसक्दा हत्या गरिएपछि प्रहरी प्रमुखलाई बर्खास्ती गरिएको हो ।
अपहरणमा परेपछि प्रहरीलाई खबर गर्न १५ वर्षीया किशोरीले पटक पटक आपतकालीन टेलिफोन गरेको बताइन्छ । तर प्रहरी लापर्वाहीले किशोरीको हत्या भएको भन्दै गृहमन्त्रीले प्रहरी प्रमुखलाई नै बर्खास्त गरिदिएको समाचारमा उल्लेख छ ।
अपहरणमा परेकी किशोरीले तीन पटक फोन गर्दै आफुलाई लैजान लागिएको ठाउँको बारेमा समेत जानकारी प्रहरीलाई दिएपनि उद्धार हुन नसकेको हो ।
प्रहरीले गम्भीरतापूर्वक नलिँदा अपहरणकारीले छोरीको हत्या गरेको किशोरीको परिवारले आरोप लगाएका छन् । प्रहरीले भने किशोरीले फोन गरेको स्थान पत्ता लगाउन नै कठिनाई भएको जिकिर गरेको छ ।
किशोरीले आपतकालीन हटलाइन सेवा ११२ मा तीन पटक फोन गरी आफुलाई एक कार चालकले अपहरण गरेको जानकारी दिएको उल्लेख छ ।
बर्खास्त गरिएका प्रहरी प्रमुखका अनुसार किशोरीले ‘उ आइरहेछ, उ आइरहेछ’ भन्दै चिच्चाउँदा चिच्याउँदै फोन काटिएको थियो ।
बुधवार अपहरणमा परेकी किशोरीलाई बन्दी बनाइएको आशंका गरिएको घरमा प्रहरी १९ घण्टापछि पुगेको थियो ।
प्रहरीले उक्त घरमा सर्च गर्न समेत आवश्यक नै नपर्ने वारेन्ट कुरेर बसेको समाचार संस्था एपीले उल्लेख गरेको छ । प्रहरीको व्यवहारप्रति अभियोजनकर्ता नै आश्चर्यमा परेको पनि समाचारमा उल्लेख छ ।
प्रहरीले घटनास्थलबाट मानव अवशेष फेला पारेको छ । घटनामा संलग्न रहेको आशंकामा ६५ वर्षीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एजेन्सीकाे सहयाेगमा

