गण्डकी प्रदेशको नाका स्याङ्जा गल्याङमा विषादी मापन प्रयोगशाला सञ्चालनमा

गण्डकी प्रदेशको नाका स्याङ्जाको गल्याङ नगरपालिका– १ मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालाको विहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशका प्रत्येक गाउँ आर्थिक गतिविधिको केन्द्र बन्नुपर्ने र त्यसका लागि सरकारले होमस्टे, मोडल फार्म लगायतका कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले शहरमा केन्द्रित विकासलाई गाउँमा लैजाने र गाउँले जनताको जीवनस्तर सुधार गर्न चाहेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले पोखराको मात्र विकास भएर गण्डकी प्रदेशको विकास नहुने भन्दै उहाँले प्रत्येक गाउँले उत्पादनमा सक्रियता बढाउनुपर्ने बताउनुभयो । राजीतिक अधिकारका लागि ६७ वर्षको लडाई लडेर अहिले देशमा नागरिक, आर्थिक, समाजिक, सांस्कृति सबै प्रकारको अधिकार प्राप्त भएको भन्दै उनले अव देशमा कुनै पनि प्रकारको संघर्ष, बन्द, हड्ताल र आन्दोलनको आवश्यकता नरहेको प्रस्ट पार्नुभयो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रयोगशालामा शुरुआतमा फलफूल र तरकारीमा प्रयोग भएको विषादी परीक्षण गरिएपनि आगामी दिनमा पशुपन्क्षीको पनी परीक्षण गरिने बताउनुभयो ।

प्रयोगशाला स्थापना भएसँगै प्रदेशका नागरिकले स्वस्थ तरकारी तथा दूध, मासु र अण्डा उपभोग गर्न पाउने भन्दै मन्त्री थापाले केही दिनभित्र आँवुखैरेनीमा पनि परीक्षण प्रयोगशाला स्थापना गरिने भनाई राख्नुभयो ।

प्रदेश सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला मार्फत यहाँ भित्रिने तरकारी तथा फलफूलमा कति परीणाम विषादीको प्रयोग गरिएको छ भन्ने बारेमा परीक्षण गरी उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्ड भन्दा बढी विषादी प्रयोग भएको पाईएमा नष्ट गर्ने उद्देश्य राखेको छ ।

सरकारले हाल घर भाडामा लिएर सो प्रयोगशाला स्थापना गरेको हो । प्रयोगशालाको लागि १४ रोपनी ८ आना जमीनको प्रवन्ध भईसकेको मन्त्रालयले जनाएको छ । तरकारी, फलफूल, खाद्यान्नको विषादी परीक्षणका साथै निर्धा्रित गुणस्तर अनुसारका पशुपन्क्षी तथा पशुजन्य पदार्थको मात्र आयात(पशु क्वारेन्टाईन) को व्यवस्था मिलाउने तयारी पनि सरकारको छ ।

आँबुखैरेनीमा पनि प्रयोगशाला राख्ने तयारी सरकारको छ । गोरखालाई पनि समेट्नुपर्ने भएकाले मुग्लिन पुलदेखी आँबुखैरेनीसम्मको क्षेत्रमा प्रयोगशाला स्थापनाको काम अघि बढेको बताईन्छ ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारी, पशुपन्क्षी निर्देशनालयका निर्देशक डा. विमल थापा, मन्त्रालयका कृषि महाशाखा प्रमुख माधव लम्साल तथा कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण लगायले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments