पुनः उकालाे चढ्दै कोरोना भाइरस संक्रमणकाे ग्राफ
नेपालमा पुनः काेरोना भाइरस संक्रमणकाे ग्राफ बढिरहेकाे छ । सरकारले चैतकाे दाेस्राे हप्ताबाट गरेकाे लकडाउन असार लागेपछि क्रमशः खुकुलाे बनाएकाे थियाे । लकडाउन खुकुलाे बनाएसँगै काेराेना संक्रमणकाे ग्राफ भने क्रमशः उकालाे लाग्न थालेकाे छ ।
साेमबारमात्रै देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।
याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६९० जनाको आईसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म कोरोना संक्रमणबाट ९ हजार ८९८ जनाको मृत्यु भएको छ ।

