जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गर्नुभएकाे छ ।
राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेलले सही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गर्नुभएकाे हाे ।
नेपालमा १२ औं जनगणना बिहीबार अर्थात कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ । राज्यको पुनसंरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणनाको खास महत्व रहेको समेत मुख्यमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।
प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो तथ्यांक थिएन ।
उहाँले भन्नुभएकाे छ, ‘२०६८ सालमा राज्यको पुरानो संरचना अन्तगरगत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौं । तर यसपालि जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ । यो खुसीको कुरा हो ।’
हाम्रो प्रदेशको जनसंख्या कति छ ? कुन कुन जातिका मानिसहरुको बसोबास छ ? कुन धर्म र सस्कृतिका मानिसहरु कति छन् ? कुन भाषा बोल्ने मानिसहरुको बाहुल्य छ ? सामाजिक बहिष्करणमा परेका समूहहरु दलित, जनजाति, अल्पसंख्यक लोपोन्मुख महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लंग पार्ने मुख्यमन्त्री पोखरेलकाे अपिलमा उल्लेख छ ।
उहाँका अनुसार जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक, समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ ।
यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ ।
जनगणनाको तथ्यांक संकलनको पहिलो चरण अन्तरगत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षकहरु सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।
जनगणनाका क्रममा टिपाएका तथ्यांक गोप्य रहने भन्दै मुख्यमन्त्रीले भन्न्रभएकाे छ, ‘यस्ता विवरण गोप्य नराख्ने वा गोपनियता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारवाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’
केन्द्रीय तथ्यांक विभागले यस जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गर्नुभएकाे छ ।
तस्बिर: राधिका कँडेल

