सुन चाेरीमा संलग्न भएकाे आरोपमा विमानस्थलबाट एक जना पक्राउ
भारतमा सुन चाेरीकाे घटनामा संलग्न भएकाे आशंकामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पुरूष पक्राउ गरेकाे छ । भारतकाे मुम्बइ जान ठिक्क परेकाे नेपाल एयरलाइन्सको आरए ४०१ जहाजकाे उडान केहीबेर राेकेर कैलालीका सन्ताेषकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले जहाजमा रहेका सबै १४१ यात्रु झारेर लामिछानेलाइ नियन्त्रणमा लिएकाे थियाे ।
लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरेकाे थियाे ।
लामिछाने भारत जान लागेकाे भन्दै कैलाली प्रहरीले पक्राउका लागि प्रहरी प्रधान कार्यालयमा खबर गरेकाे थियाे । साेही खबरका आधारमा प्रहरीले श्रीमतीसहित मुम्बई जान लागेकाे अवस्थामा लामिछानेलाई नियन्त्रणमा लिएकाे हाे ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ का लामिछाने सुनचाँदी व्यवसायी रहेकाे र भारतमा चाेरीपछि धनगढी पुगेकाे प्रहरी अनुसन्धानमा देखिएकाे छ ।

