भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न सक्ने
नेपाललले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न सक्ने भएकाे छ ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको हाे ।
यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न स्वीकृति दिइएको थियो । योसँगै नेपालले भारतीय विद्युत बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न प्रवेश पाउने भएको छ । यस कार्यको लागि भारतीय सरकार र सम्बद्ध सबै निकायहरूलाई नेपालकाे तर्फबाट उर्जामन्त्री पम्फा भुषालले कृतज्ञता प्रकट गर्नुभएकाे छ।
यसबाट ‘वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भइ दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ ।

