पाेखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीकाे गठबन्धनलाई समर्थन
पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएकाे र गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुहुने भएकाे छ ।
निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिएकाेले कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेपनि उम्मेदवारी वैधानिक रूपमा भने कायमै रहन्छ ।
कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन रहने बताउनुभएकाे हाे ।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटकाे उम्मेदवारी रहेकाे छ ।
कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग रहने विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

